यस वर्षको तिहारमा झण्डै १५ करोड बराबरको माला खपत


काठमाडौँ – यस वर्षको तिहारमा १४ करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको माला खपत भएको छ ।

तिहारमा करिब १२ करोड ७० लाख ५० हजार रुपैयाँको सयपत्री, १ करोड ६७ लाख ७५ हजार रुपैयाँको मखमली र ५२ लाख ५० हजार रुपैयाँको गोदावरी फूलका माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

यस वर्षको तिहारमा करिब १८ लाख ६५ हजार सयपत्री, मखमली र गोदावरी फूलका माला खपत हुने अनुमान रहे पनि बढी प्रयोगमा आएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले बताए । यसमध्ये १८ लाख १५ हजार सयपत्री, ३ लाख ५ हजार मखमली र १५ हजार गोदावरी फूलका माला प्रयोग भएका छन् ।

साथै यस अवधिमा नेपालबाट फूल निर्यात पनि भएको फ्यानको तथ्याङ्क छ । ‘नेपालबाट मखमली फूलका माला निर्यात भएको छ,’ उनले भने, ‘करिब ३० लाख रुपैयाँको एक लाख मखमलीका माला नेपालदेखि बाहिरिएको छ ।’

उनका अनुसार यस वर्षको बजारमा एक मिटरका सयपत्री फूलको कारोबार प्रतिमाला ६०-८० र मखमली फूलको प्रतिमाला ४०-७० रुपैयाँसम्ममा कारोबार भयो ।

‘तिहारका लागि आवश्यक सयपत्री फूलका माला मौसम प्रतिकूलताका कारण उत्पादनमा कमी आयो । त्यसैले ८५ प्रतिशत आन्तरिक उत्पादन र १५ प्रतिशत आयात गरी पूरा गर्ने अनुमान गरेका थियौँ,’ उनले भने, ‘हामीले भारतबाट करिब २ लाख ३२ हजार सयपत्री फूलका माला आयात हुने अनुमान गरेकोमा तर गैर पुष्प व्यवसायीहरूबाट समन्वयबिना तिहार सुरु हुनु १५र२० दिनअगाडि नै दोब्बर मात्रामा माला भित्रियो । यसले बजार मागभन्दा अधिक आपूर्ति भएकाले स्वदेशी फूलको बजारमा असर पर्‍यो ।’

खपत भएका मालामध्ये बजार हिस्साको करिब ३० प्रतिशत भारतीय सयपत्रीको मालाले ओगटेको उनको भनाइ छ । बजारमा भारतीय सयपत्री फूलका प्रतिमाला ५० रुपैयाँमा बिक्री भयो ।

स्वदेशी फूलको तुलनामा २०–३० रुपैयाँसम्म सस्तो पर्न गएकाले करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नुपरेको उनले बताए ।

‘भारतीय फूलको उत्पादन लागत सस्तो पर्छ,’ उनले थपे, ‘यहाँका किसानले उत्पादन गरेका सयपत्री फूलका लागत नै ५०–६० रुपैयाँसम्म पर्न जान्छ ।’ आयातित फूलका कारण नेपाली उत्पादनले बजार नपाउँदा स्वदेशी पुष्प व्यवसायी हतोत्साही भएको उनले सुनाए ।

प्रतिक्रिया