६ वर्षपछि तिहारमा सर्वसाधारणका लागि खुल्ला गरिदै रानीपोखरी


काठमाडौं – विगत ६ वर्षदेखि बन्द रहेको रानीपोखरी यो वर्षको तिहारमा भाइटीकाका लागि खुल्ने भएको छ। भूकम्पपछिको पुनर्निर्माण सम्पन्न भएपछि पहिलोपटक भाइटीकामा खोल्न लागेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाको दिन रानीपोखरी खुल्न लागेको हो। भाइटीकाको दिनमात्र खुल्ने सो मन्दिर भूकम्पपछिको पुनर्निर्माण सम्पन्न नभएकाले ६ वर्षदेखि व्यवस्थित रूपमा सञ्चालन गर्न पाएको थिएन।

दिदीबहिनी नभएकाले भाइटीकाको दिन बालगोपालेश्वर मन्दिरमा टीका लगाउने प्रचलन छ । ०७२ को भूकम्पले रानीपोखरीलाई पूर्णरूपमा क्षति पुगेको थियो। पुनर्निर्माण पूरा नभएका कारण अघिल्लो वर्ष रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बाहिरै टीका लगाइएको थियो। यो वर्ष टीकाको दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने तयारी रहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

रानीपोखरी प्रताप मल्लले वि।सं। १७२७ मा बनाएका हुन्। छोराको मृत्युको शोकमा डुबेकी रानीलाई भुलाउन बनाएकाले यसलाई शोकको प्रतीक समेत मानिन्छ। यहाँ प्रताप मल्लले विभिन्न तीर्थस्थलका जल ल्याएर पोखरी बनाएको उल्लेख छ।

प्रतिक्रिया