प्रदेश नं. १ मुख्यमन्त्री आचार्यले राजीनामा दिँदै


विराटनगर — विश्वासको मत लिने तयारी गरिरहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री आचार्यको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज आफूले राजीनामा दिने जनाएका छन् । प्रदेश नं. १ मा ९२ जना प्रदेशसभा सदस्य रहेकोमा बहुमतका लागि ४७ जनाको समर्थन चाहिनेमा मुख्यमन्त्रीसँग सभामुखसहित ४१ जनामात्रै रहेको अवस्थामा आचार्यले राजीनामा दिने जनाइएको हो ।

प्रदेश नं. १ मा आचार्यको राजीनामा लगत्तै कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय आइतबार नै गरिसकेको छ ।

यसअघि बागमती प्रदेशमा पनि अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने दिन नै राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया