

मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिदै

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् ।
आज (सोमबार) साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।
अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले गठबन्धन एक ढिक्का भए विश्वासको मत पाउदैनन् । ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।
गत भदौं १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर काङ्ग्रेसभित्रको किचलोका कारण बैठक आजसम्मका लागि सरेको थियो ।
गठबन्धनले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले बताए ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले गठबन्धनले राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने आइतबार नै निर्णय गरिसकेको छ ।
आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् । आहृवानपछि गठबन्धनले राईको नाम अघि सार्ने निर्णय गरेको थियो ।

