
प्रधानमन्त्री देउवा लण्डन पुगे,यस्ता छन् भ्रमण तालिका
लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन पुगेका छन् ।
नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल झरेका हुन् । विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनेछन् ।
भ्रमणका क्रममा उनी अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह ९एपीपीजी–एन० र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लन्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री त्यहाँ रहँदा उनीसँग बेलायत-नेपाल समाजका प्रतिनिधि, गैर आवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अक्टोबर ३१ गते प्रधानमन्त्री देउवाको सम्मानमा लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । उनले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनले वर्ल्ड लिडर समिटमा नेपालकोतर्फबाट सम्बोधन गर्नेछन् ।
सोही दिन साँझ उनी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
उनी नोभेम्बर २ को बिहान प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले नोभेम्बर ३ तारेखमा स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले नेपाली बगैँचामा बिरुवा पनि रोप्नेछन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
उनी बेलायतबाट नोभेम्बर ३ गते स्वदेश फर्कने र नोभेम्बर ४ तारेख बिहान स्वदेश आइपुग्नेछन् ।
प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा प्रेमनाराण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत अन्य उच्च अधिकारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना छन् ।



कागजपत्र |
