

फुलकोर्ट बहिस्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् ।
आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नभई बहिस्कार गर्ने निणर्य गरेको हो ।
आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए ।
प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा आँच आएको कारण न्यायालय सुधारको काम तत्कालै सुरु गर्नुपर्ने माग बारको थियो । त्यसलगत्तै प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) बोलाउने प्रतिवद्धता जनाएका थिए ।
प्रधानन्यायाधीशकै कारण अदालतको गरिमामा गम्भीर आघात पुगेको भन्दै अहिले उठेकै विवादका विषयमा छलफल गर्न न्यायाधीशहरूले पूर्ण बैठकको माग गरेका थिए ।

