प्रदेश १ का मुख्‍यमन्‍त्री आचार्यले आज विश्‍वासको मत लिँदै


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन आज हुने भएको छ। आज बस्‍ने प्रदेश सभा बैठकमा प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन हुने कार्यसूची छ। प्रदेश सभा बैठक आज दिउँसो साढे १२ बजे बस्‍दैछ।

शुक्रबारको प्रदेश सभा बैठकमा मुख्‍मन्‍त्री आचार्यले विश्वासको मत माग्‍दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका गरेका थिए। बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन गर्ने सहमति भएको थियो। सोहीअनुसार आज मत विभाजन गर्न लागिएको हो।

आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका थिए। एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेर दल विभाजन भएपछि उनी मुख्यमन्त्री भएलगत्तै अल्पमतमा परेका थिए। प्रदेश सभाको वर्तमान राजनीतिक समीकरणअनुसार उनले विश्‍वासको मत नपाउने निश्‍चित छ।

एमालेसँग सभामुखसहित ४१ सांसद छन्। ९२ सदस्यीय प्रदेश सभामा सरकार टिकाई राख्न मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन चाहिन्‍छ।

प्रतिक्रिया