

वीरअस्पतालका कर्मचारीले लिए ४६ दिनदेखिको आन्दोलन फिर्ता

काठमाडौं – वीरअस्पतालमा कर्मचारीले गरेको ४६ दिनदेखिको आन्दोलन फिर्ता भएको छ ।
आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच शुक्रबार भएको वार्तामा पाँचबुँदे सहमति जुटेपछि कर्मचारीले आन्दोलन फिर्ता लिएका हुन् ।
कर्मचारीहरुले कोभिड भत्ता नपाएको लगाएतका विषयहरु उठाउँदै आन्दोलन गरेका थिए ।
कोभिड भत्ता वितरणमा देखिएका त्रुटी सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधिसमेतको समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार वितरणको व्यवस्था गर्ने सहमति वार्तामा भएको छ ।
यसैगरी कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी निर्णय गर्ने, कर्मचारीहरुले पाउने आर्थिक वर्ष २०७६/७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने र सेवा विस्तार भत्ता सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति पनि भएको छ ।
अस्पतालका पूर्ववत सेवाहरुसहित थप सेवाहरु अझ प्रभावकारी रुपले सन्चालन गर्ने, प्रतिष्ठान सेवा तर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि स्वास्थ्य मन्त्रालय समक्ष पत्राचार गर्ने लगायतका सहमति पनि भएको छ ।


