

नेकपा सचिवालय आजः ओली–प्रचण्ड संवादशुन्य, औपचारिक विभाजनको घोषणा बाँकी?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा आज प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने या नहुने भन्ने विषय अहम् बनेको छ।
प्रधानमन्त्री ओलीको सचिवालयबाट उनको उपस्थिति हुने या नहुने भन्ने विषयमा स्पष्ट र आधिकारीक जानकारी आइसकेको छैन। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ओलीको संवादशुन्य अवस्था छ।
दुवै अध्यक्षबीच साझा प्रस्ताव बनाउनका निम्ति ओलीनिकट मानिने महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ विहीबार र शुक्रबार सक्रिय रहेका थिए। खुमलटार पुगेका उनीहरूले विभाजनबाट जोगाउनका निम्ति प्रचण्डलाई साझा प्रस्ताव ल्याउन आग्रह गरेका थिए।
यसबीचमा विभिन्न हिसाबले भएका भेला र सम्बोधनमा पुगेका स्थायी समिति सदस्यहरूको धारणाले नेकपा औपचारिक विभाजनको घोषणा मात्र पर्खिरहेको भन्ने प्रतीत गराएको छ।
शुक्रबार थापाथलीमा प्रचण्ड–माधव नेपाल समूहका युवा विद्यार्थी भेलाको सन्देश सोही शैलीमा आएको थियो जहाँ स्थायी समिति सदस्यहरू अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले सम्बोधन गरेका थिए।
उक्त कार्यक्रममा नेकपाकी सांसद रामकुमारी झाँक्रीलगायतको पनि सहभागीता रहेको थियो।
स्पष्ट रुपमा दुई खेमामा देखिएको नेकपाका युवा विद्यार्थीलगायतका गुटगत भेला र कार्यक्रममा नेताहरू आफैं उपस्थित हुनुले नेकपा विभाजनको औपचारिक घोषणाका लागि मात्र बाँकी रहेको भन्ने सन्देश दिएको कतिपयको बुझाई छ।
तर प्रचण्ड–नेपाल समूहका नेताले भने मदन भण्डारी फाउन्डेशनमार्फत ओली पक्षले गरेका भेलालाई काउन्टर दिनका लागि कार्यक्रम गरिएको बताए। यति मात्र नभई बैठक र विधि पद्धतीको खिलाफमा रहेका ओलीलाई शिक्षा दिनका निम्ति पनि उक्त भेला गरिएको बताइन्छ।
नेकपाको आन्तरिक विवाद निक्कै गहिरो रहेको भन्ने सन्देश नेताहरूको बालुवाटार र खुमलटार दौडधुपले स्पष्ट पारेको छ। यहाँसम्मकी विवाद मिलाउने सहजकर्ताका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नेकपाका दुवै अध्यक्ष र अन्य तहका नेतासँग बारम्बार शितलनिवासमा बोलाएर संवाद गरेकी थिइन्।
उनको मध्यस्ततामा भएका कतिपय संवादका क्रममा दुवै अध्यक्षले आफ्ना प्रस्ताव फिर्ता लिने र साझा प्रस्तावका आधारमा अगाडि बढ्नुपर्ने भन्ने सन्देश समेत सतहमा आएको थियो।
के होला आज?
नेकपा नेता झलनाथ खनालले भनेका थिए,‘अबको बैठकमा ओली सहभागी नभए बहुमतका आधारमा निर्णय गरी उनको राजीनामाको औपचारिक माग हुनेछ।’
सचिवालयमा प्रचण्डले राखेको प्रस्तावमाथि छलफल गरी त्यसको निर्णय पनि हुनेछ। जसलाई स्थायी समिति र केन्द्रीय कमिटीमा पनि निर्णयका लागि लगिनेछ।
त्यसो त सचिवालयमा अनुपस्थित रहेर सदन विघटन गर्ने, संकटकाल लगाउने या अन्य कुनै अप्रिय कदम उठाउने ओलीको धम्कीसँग कोही पनि नडराउने बरिष्ठ नेता नेपालले बताइसकेका थिए।
उच्च स्रोतले भन्यो,‘विवाद यो तहसम्म छारष्ट भएका कारण मिल्ने विन्दुको खोजी ओली–प्रचण्डको सहमतिमा मात्र रहेको देखिन्छ, अन्यथा विभाजनको विकल्प देखिँदैन।’
ओलीले पार्टीको विवाद सन्दर्भमा इतर समूहका प्रचण्ड, नेपाल, खनाल या उपाध्यक्ष बामदेव गौतमसँग समेत संवाद गरेका थिएनन्, शुक्रबार बेलुकासम्म। तर कतिपयले आजको सचिवालयअघि सघन दौडधुप हुने र त्यसले समाधान निकाल्न सक्ने समेत आँकलन गरेका छन्।

