दरबार संवैधानिक रुपमा फर्किन्छ!


काठमाडौं– राजसंस्थाको स्थापना, हिन्दू राज्य कायमको माग गर्दै शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी र राजावादी संघ संस्थाले देशव्यापी रुपमा सभा र सम्मेलन गर्दैछन्।

झापादेखि पश्चिमका विभिन्न जिल्ला र उपत्यकाको माइतिघर मण्डलालगायतका ठाउँमा पनि राजसंस्थाका पक्षधरले कार्यक्रम गर्ने तालिका सार्वजनिक गरिसकेका छन्। यसैअनुरुप नै कार्यक्रम हुने बताइएको छ।

लामो समयसम्म मौन रहेका राजावादी संघ संस्था र दलका विभिन्न कार्यक्रममा अहिले बाक्लो उपस्थिति देखिन थालेको छ। जसका कारण राजसंस्थालाई देशको अभिभावक संस्थाका रुपमा स्थापना गर्नुपर्ने बहस सुरु भएको छ।

यो महाअभियानका रुपमा व्याख्या गर्ने मध्येका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘गणतन्त्रका नाममा मुलुक नै सखाप बनाउने काम भयो, राजसंस्था संवैधानिक रुपमा भए पनि हामी फर्काउने आन्दोलनमा छौं।’

मुलुकमा राजसंस्था अपरिहार्य रहेको राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले बताउँदै आएका छन्। उनले झापामा शनिबार हुने सभामा १० हजार मानिस उतार्ने समेत बताएका थिए। त्यहाँको सभालाई उनले सम्बोधन गर्नेछन्।

लिङ्देन भन्छन्,‘हाम्रो संघर्ष शान्तिपूर्ण छ, कुनै तोडफोड वा अहिंसात्मक गतिवधि वा गालीगलौज गर्ने कार्यक्रम छैनन् । यसलाई दमन गर्ने चेष्ट भयो भने त्यहीँबाट संघर्ष सुरु हुन्छ, यो अभियान भनेको मुलुकमा एउटा स्वतन्त्र अभिभावक संस्था चाहियो र त्यो दरबार हो भन्नेमा हामी प्रष्ट छौं।’

राजावादीको प्रदर्शन र सभा ३० मंसिरसम्मका लागि विभिन्न ठाउँमा तय गरिएका छन्। त्यसबेलासम्म ठूलो जनसमर्थनमा आन्दोलन र प्रदर्शन हुने समेत उनीहरूले कार्यक्रम तय गरिसकेका छन्।

यता, प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द समूहले राजावादीको सभामा बमसम्म हान्ने चेतावनी दिएपछि यो आन्दोलनले अलग बाटो लिन सक्ने आँकलन गर्दै प्रशासनले ध्यान दिएको छ।

सभा जुलुस गर्न नरोके पनि त्यसको सुरक्षा र विप्लव समूहमाथि भने कडा निगरानी राखिएको गृह मन्त्रालयका उच्च अधिकारीले बताएका छन्।

प्रतिक्रिया