
बुटवलमा सुकुम्बासी समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु
काठमाडौं – बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवा अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले जानकारी दिए । १ को उपचारको क्रममा मृत्यु भएको पनि उनले बताए । उनले भने, ‘घाईते अन्यको उपचार हुँदैछ ।’
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू समेत जारी गरेको छ ।
आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।



कागजपत्र |
