स्रोत नखुलेको १० लाख रकमसहित दुई पक्राउ


महोत्तरी – महोत्तरी जिल्लाको जलेश्वर-रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट आज प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका-८ बजराही गाउँको भित्री सडकबाट नम्बर नबुझिएको ग्ल्यामर मोटरसाइकलमा जाँदै गरेको अवस्थामा रु १० लाख चार हजार ५०० सहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जिल्लाकै मनरासिस्वा नगरपालिका-५ बस्ने मोटरसाइकल चालक ३४ वर्षीय दिपेन्द्रकुमार साह र सोही मोटरसाइकलमा पछाडि सवार भङ्गहा नगरपालिका-७ बस्ने १८ वर्षीया विन्दाकुमारी साह रहेका छन् ।

रकम बोकी दुवै जना मनरासिस्वा नगरपालिका-५ कटैया गाउँबाट धनुषाको जनकपुर जाँदै गरेको अवस्थामा प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले संयुक्तरूपमा जलेश्वर-८ स्थित बजराही गाउँको भित्री सडकमा जाँच गर्दा उनीहरु रकमसहित पक्राउ परेका हुन् ।

आज पक्राउ परेका दुवैलाई रकमसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया