

हुम्लामा नेपाल टेलिकमको सेवामा समस्या

सिमकोट – हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ । विगत लामो समयदेखि टावरमा खराबी देखिएपछि स्थानीयवासी समस्यामा परेका छन् ।
नेपाल टेलिकमले राखेका दुई वटा र गाउँपालिकाको सिमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि सेवाग्राही डाँडाकाँडा धाउन बाध्य भएका छन् ।
केही महिनायता तीनवटै टावरले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्न छाडेपछि दिउँसो अग्ला डाँडा र रुख चढ्न बाध्य भएको अदानचुली–२ का सुमन बुढाले गुनासो पोखे ।
अघिल्लो वर्ष पनि यस्तै समस्या आउँदा दुई महिना लगाएर सबै टावर मर्मत गरिएको थियो तर यस वर्ष भने टेलिकमले कुनै ध्यान नदिएको अदानचुली–२ को ढोगर्नामा राखिएको टावरका सुरक्षामा खटिएका चौकीदार नरबहादुर बोगटीले बताए । हरेक वर्ष टावर बनाउन मर्मत टोली आउने गरे पनि समस्या समाधान हुन नसकेको उनले बताए ।
मुगुको सोरु गाउँपालिकास्थित सोरुमा राखिएको टावरबाट फोरजी सेवा विस्तार गर्न लागेकाले नेटवर्कमा समस्या देखिएको नेपाल टेलिकमले जनाएको छ । हुम्लाको यस क्षेत्रमा नेटवर्कसम्बन्धी समस्या देखिएको चार वर्ष पुगेको छ । तल्लो भेगका स्थानीयवासी घण्टौ हिँडेर अग्लो डाडाँबाट फोन सम्पर्कमा जोडिने गरेका छन् । नेपालीको महान पर्व दसैँ तिहारलगायत चाडपर्वमा शुभकामना आदानप्रदान गर्न कठिनाइ भएको बुढाले बताए ।

