भैरहवामा बजार अनुगमन तिब्रः गुणस्तरहिन खाद्यवस्तु बिक्री गर्नेलाई स्थलगत कारवाही


भैरहवा – चाडपर्व नजिकिएसँगै भैरहवा आसपास क्षेत्रमा बजार अनुगमनलाई तिव्र पारिएको छ। चाडपर्वको समयमा बजारमा कालो–बजारी र महंगी सृजना गरि उपभोक्ता ठग्ने कार्य बढेको उपभोक्ताहरुको गुनासो पछि बजार अनुगमनलाई तिव्र पारिएको हो।

बजार अनुगमन टोलीले आइतबार विभिन्न व्यवसायिक प्रतिष्ठान तथा खाद्य सामाग्री बिक्री केन्द्र, पसलहरुको अनुगमन गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख टेकराज भट्टराईको संयोजकत्वमा बजारमा गएको अनुगमन टोलिले बजारका खाद्य, किराना, फलफुल, मदिरा पसलहरुको अनुगमन गरेको थियो।

टोलीले चाडपर्वको समयमा बजारमा कालोबजारी र महंगी सिर्जना हुन नदिन निरन्तर बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा व्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको खाद्य वस्तुको गुणस्तर कायम भए नभएको, उपभोग्य मिति भए नभएको र त्यसको खरिददेखि बिक्री मुल्य समेत हेरेर कैफियत देखिए तत्कालै आवश्यकता अनुसारन कारवाही गरिएको भट्टराईले बताए।

अनुगमनका क्रममा १ वर्ष म्याद सकिएका पेय पदार्थ, खाद्य वस्तु भेटिएको, व्यवसाय नवीकरण नभएको तथा बिल विजकहरु दुरुस्त नभएको भन्दै ओमसतिया गाउँपालिका–१ ठुलिपिपलस्थित चौधरी फलफुल तथा नास्ता पसललाई १० हजार जरिवाना गरिएको उनले जानकारी दिए।

त्यस्तै अनुगमनको क्रममा ठूलो कसुर गरेको भेटिए उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐन अन्तर्गत कडा कारवाही समेत गरिने अनुगमन संयोजक भट्टराईको भनाइ छ।

भट्टराईको संयोजकत्वमा गरिएको अनुगमन टोलीमा कार्यालयका नासु नारायण पन्थी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झविलाल भट्टराई, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय निरीक्षक करुणा गुरुङ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्ष्मण लम्साल, ओमसतिया गाउँपालिकाका प्रशासकीय अधिकृत दुर्गा पौडेल, ईलाका प्रहरी कार्यालयका धन बहादुर थापालगायत सहभागी थिए।

बजारमा कालोबजारी हुन नदिने र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामाग्री खान पाउने अधिकार सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय निरन्तर लागेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झविलाल भट्टराई बताए। ‘चाडपर्वको समयमा कालोबजारी तथा बजारमा अखाद्य सामग्री बिक्री गरी उपभोक्ता ठग्नेहरुमाथी हदै सम्मको कारवाही गर्छौ,’ उनले भने।

आइतबार गरिएको अनुगमनका क्रममा ठुटिपिपलस्थित चौधरी फलफुल तथा नास्ता पसल र शुभ शर्मा किराना पसलबाट म्याद गुज्रेका पेय पदार्थ र खाद्य वस्तु बरामद गरि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक करुणा गुरुङले बताइन्।

प्रतिक्रिया