इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हटे कुलमान


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र केबुल टेलिभिजनहरुको तार नकाट्ने भएको छ । पोलको भाडा नतिरेको भन्दै शनिबार विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट र केबुल टेलिभिजनको तार काटेको थियो ।

तर, तार काट्दा उपभोक्ता प्रभावित भएको भन्दै प्राधिकरण पछि हटेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङले सांकेतिक रुपमा तार काटेपनि उपभोक्तालाई परेको मर्कालाई ध्यानमा राखेर तत्काल थप तार नकाटिने बताए ।

आफूहरु सामाजिक उत्तरदायित्व समेत बोकेको संस्था भएकाले उपभोक्तालाई असर नपर्ने गरी बक्यौता उठाउन थप कदम चाल्ने उनको भनाइ छ ।

५-६ वर्षदेखि प्राधिकरणको पोलमा तार र स्वीचबक्स झुण्ड्याएका धेरै कम्पनीले भाडा तिरेका छैनन्,’ उनले भने,’यो वक्यौता तिर्नु उहाँहरुको कर्तव्य हो, बहानाबाजी गरेर हुँदैन ।’

प्राधिकरणले कम्पनीहरुलाई सम्पर्कमा आएर आफ्ना बक्यौता तिर्न २ महिनादेखि ताकेता गर्दै आएको छ । दैनिक रुपमा सूचनाहरु प्रकाशित गरेर प्राधिकरणका वितरण केन्द्रहरुले पोल भाडा तिर्न आग्रह गरिरहेका छन् । तर, इन्टरनेट सेवा प्रदायक र टेलिभिजन सेवा वितरकहरु ठूलो मात्रा भाडादर तोकिएको भन्दै नतिर्ने अडानमा छन् ।

प्रतिक्रिया