करेन्ट लागेर कोशी टप्पु वन्यजन्तु आरक्षको रैथाने हात्ती मकुना मर्यो


विराटनगर – कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेन्ट लागेर मरेको पुष्टि गरेको छ ।

आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए । रामका अनुसार हात्ती आज विहान मृत भेटिएको थियो ।

आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए । उनले मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबर दुःखद भएको बताए ।

आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर शदगदको तयारी थालिएको जनाएको छ । केहि साता अघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो । जसकालागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेबारी दिइएको थियो ।

मकुना जंगली हात्ती भएपनि रैथानेका रुपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो । मकुना हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमा समेत रहेको थियो ।

 

प्रतिक्रिया