
तीन महिनापछि बल्ल डोटीमा प्रजिअ
डोटी – डोटी जिल्लामा तीन महिनापछि प्रमुख जिल्ला अधिकारी आउने भएका छन् । तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी बिहिन बनेको डोटीमा हिजो (शनिबार) गृह मन्त्रालयले शंकरबहादुर विष्टलाई डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
राजपत्राङ्कित द्वितीय श्रेणीका विष्ट हाल बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत छन् ।
दार्चुला र अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका विष्ट यसअघि डोटीमा सहायक प्रमुख जिल्ला अधिकाररुको रुपमा काम गरिसकेका छन् । विष्टले साविकको सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा निमित्त प्रशासकको जिम्मेवारी पनि सम्हालेका थिए ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिल खनाल साउन १० गते सरुवा भएर गृह मन्त्रालय गएपछि डोटी प्रमुख जिल्ला अधिकारीविहीन भएको थियो ।
राजपत्राङ्कित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको दरबन्दी रहेको डोटीमा खनालको सरुवा भएपछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले निमित्त भएर काम गर्दै आइरहेकी थिइन् ।



कागजपत्र |
