प्रतिभाको उत्कृष्ट प्रदर्शनसँगै एनभीए महिला भलिबलको उपाधि न्यू डायमन्ड स्पोर्टलाई


काठमाडौं – न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेट गुमाएको न्यु डायमन्डले प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनसँगै उत्कृष्ट पुनरागमन गरेको थियो ।

एपीएफले पहिलो सेटमा न्यु डायमन्डलाई २६–२४ ले हराएको थियो ।

तर, त्यसपछिको सेटमा न्यु डायमन्डले एपीएफमाथि २५–२१, २५–१७ र २५–१५ को जित निकाल्यो ।

उपाधिसँगै न्यु डायमन्डले ४ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाखमा चित्त बुझायो । तेस्रो भएको त्रिभुवन आर्मीले १ लाख प्राप्त गरेको छ । आर्मीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । आर्मीले पुलिसमाथि २५–१७, २५–२० र २५–१७ को जित निकाल्यो ।

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो ।

पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतिक्रिया