कोरोनाबाट विश्वभर १५ लाख बढीको मृत्यु, एकैदिन १२ हजार बढीले ज्यान गुमाए


काठमाडौं । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५१८ संक्रमितको मृत्यु भएको छ ।

एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यससँगै विश्वभर १५ लाख १० हजार ९४२ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ६८ हजार १८ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वभर ६ करोड ५५ लाख ५ हजार ६ सय ३८ संक्रमित पुगेका छन् । ती मध्ये सबैभन्दा धेरै अमेरिकामा १ करोड ४५ लाख ३४ हजार २ सय ४५ पुगेका छन् । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार ८ सय २७ पुगेको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ६० हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ४१४ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ६० हजार ११३ पुगेको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५८ हजार ३८ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५४ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख १९ हजार ७५१ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनाको मृत्यु भएको छ ।

यस्तै मेक्सिकोमा १ लाख ७ हजार ५६५ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ९६ हजार ७६४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६१४ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३९ हजार १०२ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २९ हजार २४३ संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७५ हजार ३०७ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा संक्रमणले मृत्यु हुनेको संख्या ५२ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा २६१ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २१ हजार ८०३ संक्रमितको मृत्यु भएको छ । यस्तै ओसियानामा १ हजार २० संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया