कोभिडविरुद्धको खोप सार्वजनिक सामानको रुपमा घोषणा गर्नुपर्छ : परराष्ट्रमन्त्री खड्का


काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले महासभालाई सम्बोधन गरेका छन् ।

परराष्ट्रमन्त्री डा। नारायण खड्काले विश्वका ४५ लाख मानिसहरुले कोभिड १९ का कारण ज्यान गुमाएकोप्रति गहिरो दुख व्यक्त गरेका छन्।

संयुक्त राष्ट्र संघको ७६ औँ महासभालाई सम्बोधन गर्दै खड्काले महामारीका कारण आफ्नो प्रियजन गुमाएका विश्वभरका नेताहरुप्रति गहिरो संवेदना व्यक्त गरेका हुन्।

उनी भन्छन्, ‘महामारीको यो सङ्कटले संसारलाई पीडामा पारेको छ, विश्वव्यापी अर्थतन्त्रलाई ध्वस्त पारेको छ, थप १५० करोड मानिसहरुलाई चरम गरिबीमा धकेलेको छ, र कडा मेहनतले गरेको विकासमा असर गरेको छ ।’

खड्काले खोप असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरुमा प्रतिकूल सामाजिक(आर्थिक प्रभाव छोडेर भ्याक्सिनलाई जनताको जीवनको हितको लागी सार्वजनिक सामानको रुपमा घोषणा गर्नु पर्ने बताए ।

उनले कोभिड १९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न राष्ट्रसंघले खेलेको भूमिकाको प्रशंसा समेत गरे । ‘कोभिडबाट उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न र संयुक्त राष्ट्रसङ्घीय प्रणाली सहित अन्तर्राष्ट्रिय समुदायले गरेका प्रयासहरुको प्रशंसा गर्दछु’, उनले भने, ‘संयुक्त राष्ट्रसंघले सबैलाई, सबै ठाउँमा भ्याक्सिनको निष्पक्ष र न्यायोचित पहुँच सुनिश्चित गर्ने कुरालाई जोड दिएको छ ।’

खड्काले सम्बोधनका क्रममा जनताको जीवन सरकारको पहिलो प्राथमिकता भएको बताउँदै हालसम्म नेपालका २० प्रतिशत जनतालाई कोभिड १९ विरुद्धको खोप लगाइसकेको जानकारी दिए ।

खड्काले बहुपक्षीयता र राष्ट्रिय हितका विभिन्न मुद्दाहरुमा नेपालको स्थितिलाई उजागर गरेका छन् ।

आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको बताए। आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको मन्त्री खड्काले स्पष्ट पारे।

अफ्गानिस्तान,लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने विश्वास नेपालको रहेको खडकाले बताए।

नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटरभन्दा अग्ला धेरै हिमाल भएकाले पर्यटन गन्तव्यको एक अनुपम देश भएको पनि परराष्ट्रमन्त्री खड्काले संबोधनका क्रममा उल्लेख गरे। प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनको असर न्यूनिकरणमा नेपालले प्राथमिकता दिएको मन्त्री खड्काले जानकारी दिए।

प्रतिक्रिया