

बुटवलका मेयरलाई मुक्का हान्ने युवामाथि सार्वजनिक मुद्दा

रुपन्देही – बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ ।
सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो ।
सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा सुवेदीमाथि पंगेनीले मुक्का प्रहार गरेका थिए । सोही दिन साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
सुवेदीमाथि हातपात गर्ने पंगेनीलाई सार्वजनिक मुद्दा अन्तर्गत थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।
सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई कुनै पनि मुद्दा नचलाउन र हिरासतमा नराख्नका लागि प्रहरीलाई आग्रह गरेको समाचार बाहिर आएपनि प्रहरीले भने सुवेदीले त्यस्तो कुनै आग्रह नगरेको बताएको छ ।

