ओलीद्वारा सभामुखविरुद्ध दायर मुद्धामा आज सुनुवाइ हुँदै


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाविरुद्ध दायर गरेको मुद्दाको आज सुनुवाइ हुँदैछ ।

एमालेले आफ्नो नेतृत्वको सरकारविरुद्ध मतदान गरेको भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको थियो ।

तर सभामुख सापकोटाले आफूहरुले गरेको कारवाहीको सिफारिस कार्यान्वयन नगरेको भन्दै एमाले अदालत गएको थियो । न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाउपर सुनुवाइ हुँदैछ । एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने जनाएको थियो ।

त्यसै गरी एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । उक्त रिटमा पनि आजै सुनुबाई हुने छ

कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।

 

प्रतिक्रिया