राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारी बनाउछौँ : अर्थमन्त्री


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित कार्यसमितिलाई आज मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा उनले राष्ट्रिय महत्वका आयोजनाको कामको अनुगमनमा आर्थिक पत्रकारलाई पनि सहभागी गराइने बताए । ‘मन्त्रालयकले अनुगमनमा तपाई पत्रकारहरुलाई संस्थागतरूपमा सहभागी गराउँछ, मन्त्रालयले अनुगमन संयन्त्र बनाउँदै छ, कर्मचारी मात्रै गएर अनुगमन प्रभावकारी हुँदैन । हामी सहकार्य गरेर जाऔँ, प्राप्त मूल्यवान समयको सदुपयोग गरौँ’, उनले भने ।

सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारको दक्षता अभिवृद्धिका लागि अर्थमन्त्रालयसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले राष्ट्रिय गौरवका आयोजनको प्रभावकारिताका लागि अनुसन्धानको काममा पनि सेजनले अर्थमन्त्रालयसँग साझेदारीका काम गर्न इच्छुक रहेको बताए । सो अवसरमा अर्थमन्त्री शर्माले खादाका साथ सेजन कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए।

सेजनका पूर्वअध्यक्ष भीमप्रसाद गौतमले अर्थमन्त्रालयसँगको सहकार्यलाई आगामी दिनमा थप समन्वयका साथ अघि बढ्न सेजन नेतृत्व तयार रहेको र मन्त्रालयका कामलाई परिणाममुखी बनाउन आर्थिक पत्रकारको भूमिका प्रभावकारी हुने विश्वास दिलाए।

सेजनको यही भदौ १८ गते सम्पन्न २२औँ साधारणसभा तथा निर्वाचनमा अध्यक्षमा जनार्दन बराल, उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोट निर्वाचित भएका थिए । त्यसैगरी कार्यसमिति सदस्यमा राससका सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला र सोभित थपलिया निर्वाचित भएका थिए ।

प्रतिक्रिया