ऊर्जामन्त्री पम्फा भुसालसँग एमसिसी उपाध्यक्ष सुमारबीच भेटवार्ता
काडमाडौं – अमेरिकी परियाेजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा उनीहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनको विषयमा छलफल भएको बताईएको छ ।
उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसिसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिन् ।