भारी वर्षाका कारण उपत्यका जलमग्न, ४ सय बढी घर डुबानमा, डेढ सय मानिसको उद्धार


काठमाडौं – काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गएरातीदेखि भईरहेको भारी वर्षाका कारण उपत्यका जलमग्न भएको छ । लगातारको वर्षाले उपत्यकाका सवै नदीहरुमा पानीको सतह उच्च भएको छ ।

बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा आएको बाढीले नदी आसपासका क्षेत्रहरु डुबाएको छ ।

बाढीका कारण करीब ४ सय घर डुबानमा परेको र डेढ सय मानिसलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । विशेषगरी खोला किनारका सुकुम्वासी बस्तीहरु जोखिममा परेका छन् ।

बल्खुको तरकारी बजार डुबानमा परेको छ भने टेकु, कालीमाटी क्षेत्र पनि डुबानमा परेको छ । कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, तल्लो नेपालटार, शंखमुल क्षेत्र पनि डुबानमा परेको छ ।

गोंगबु, मैतीदेवी र रातोपुल क्षेत्रमा पनि डुबान छ । पानीको सतह सडकसम्मै आएपछि नदी किनारका सडकहरु अवरुद्ध भएका छन् । अन्यत्र पनि सडकमा भरिएको पानीका कारण ट्राफिक ब्यवस्था प्रभावित भएको छ । बाढी र डुबानबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा राती ३ बजदेखि विहान ६ बजेसम्मको ३ घण्टामा १ सय ५ मिलिमिटर वर्षा भएको छ । यति छोटो समयमा यति धेरै वर्षा विरलै भएको पनि महाशाखाको भनाइ छ ।

प्रतिक्रिया