कांग्रेस महाधिवेशनः महामन्त्रीमा विश्वप्रकाश र गगनको भिडन्त, को–कसको टिममा?


काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा युवा पंक्तिबाट प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापाको भिडन्त हुने भएको छ।

१३ औं महाधिवेशनमा कृष्ण सिटौलाको प्यानलमा महामन्त्री पदमा पराजित भएका थापा यस पटक कोइराला (संस्थापनइतर)को प्यानलमा हुनेछन्। यस्तै, शर्मालाई भने सभापति शेरबहादुर देउवाले प्रवक्तामा नियुक्त गरेका थिए।

कांग्रेसमा विधान संशोधन गरी दुई महामन्त्रीलाई महाधिवेशनको मैदानबाट नै निर्वाचित गराउनुपर्ने व्यवस्था गरिएको छ। मनोनयनको प्रावधानलाई हटाइएको छ। दुवै महामन्त्रीका आकांक्षी फरक–फरक प्यानलमा उठे पनि दुवैको जित हुनसक्ने अनुमान गरिएको छ।

आफ्नो चुनावी क्षेत्रको एउटा कार्यक्रममा महामन्त्रीका लागि आफू उम्मेदवार रहेको थापाले घोषणा गरेका थिए। शर्माले भने २४ भदौमा विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नेछन्।

‘दुई फरक प्यानलबाट दुवै युवा पंक्ति र आशलाग्दा नेता लडेको खण्डमा दुवै बिजय हुने सम्भावना छ’, कांग्रेसका एक नेता भन्छन्,‘दुवै लोकप्रिय र प्रभाव राख्न सक्ने युवा नेता हुन्।’

थापालाई सभापतिका आकांक्षी रहेका डा. शेखर कोइरालाले टिममा राख्ने तयारी गरेका छन्। यद्यपि, कोइराला खेमाका सभापतिका उम्मेदवार को हुने भन्ने विषयको टुंगो लागेको छैन। तर कुनै क्याम्पमा नरहे पनि थापाले महामन्त्रीमा आफूलाई उभ्याइसकेका छन्।

यस्तै, शर्मालाई सभापति देउवाले महामन्त्रीको उम्मेदवार बनाउने सम्भावना रहेको छ। उनलाई सभापतिका अर्का आकांक्षी उपसभापति विमलेन्द्र निधिले पनि टिममा राख्ने तयारी गरेको उच्च स्रोतको दाबी छ।

शर्मा भने स्वतन्त्र रुपमा भए पनि महामन्त्रीको उम्मेदवारी दिएर महाधिवेशनको मैदानमा उत्रिने तयारीमा रहेका छन्।

प्रतिक्रिया