डोटीमा अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड
डोटी – अज्ञात व्यक्तिले बोगटान फुड्सिल गाउँपालिका-२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरेको छ ।
नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिए । उनका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात पनि च्यातेको छ ।
‘विद्यालयका धेरै कागजात च्यातेको भन्ने खबर पाएको छु’, प्रधानाध्यापक बोहराले भने, ‘म श्रीमतीको उपचारका लागि कैलालीमा छु, विद्यालय तोडफोड गरेको र के कति क्षति गरेको छ, अब विद्यालय गएपछि मात्रै थाहा हुनेछ ।’ स्थानीयवासीका अनुसार विद्यालयमा कुन समूह तथा किन तोडफोड गरिएको हो भन्ने पत्ता लाग्न सकेको छैन । इलाका प्रहरी कार्यालय चमराचौताराले विद्यालयमा तोडफोड भएको र घटनाका विषयमा विस्तृत अनुसन्धानसहित खोजीकार्य भइरहेको जनाएको छ ।