सभामुख अग्नी सापकोटाविरुद्धको हत्या मुद्दा संवैधानिक इजलासमा फेरि राखियो


काठमाडौं– सभामुख अग्नी सापकोटाविरुद्धको अर्जुन लामा हत्या प्रकरणको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा फेरि राखिएको छ।

बुधबारको इजलासमा उक्त मुद्दाको पेशी राखिएको छ। यो मुद्दा पटक–पटक इजलासमा राख्ने र हेर्न नभ्याइनेमा पर्दै आएको छ। बुधबार यस विषयमा सुनुवाई हुन्छ या हुँदैन भन्ने यकिनचाहिँ छैन।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै ६ असार २०६८ मा मृतकपत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले दर्ता गरेका थिए ।

तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा पठाएका थिए। त्यसपछि भने यो मुद्दा हेर्न नभ्याइनेमा राखिँदै आएको छ। पूर्णिमाया लामाले ७ मंसिर २०६९मा पतिको हत्यामा सापकोटाको हात रहेको भन्दै कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गरेकी थिइन्।

पछिल्लो पटक भने फौजदारी अभियोग लागेका मानिसलाई सभामुखमा निर्वाचित गराउन नहुने भन्दै अधिवक्ता देवप्रकाश त्रिपाठीले सर्वोच्चमा सापकोटाविरुद्ध रिट दिए। तर न्यायाधीश सपना मल्ल प्रधानको इजलासले त्यसलाई वास्ता गरेन।

प्रतिक्रिया