भोलिदेखि काठमाडौंको फोहोर उठाइने


काठमाडौं – काठमाडौँ महानगर र उपत्यकामा तीन सातादेखि विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर बुधबारदेखि उठाइने भएको छ । मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णय भएको काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले बताए । मेयर शाक्यले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि बताए ।

‘सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको छ । त्यसको सबै जिम्मेवारी सहरी विकास मन्त्रालयको हो । काठमाडौँ महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ शाक्यले भने ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भइ फोहोर उठाउने निर्णय भएको बताए ।

प्रतिक्रिया