बालुवाटार जग्गा प्रकरणः नाटकीय शैलीमा अदालत पुगेका गच्छादर १० लाख धरौटीमा रिहा

सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको भोलीपल्टै अदालतमा हाजिर भएका उपसभापति गच्छादार मन्त्री बन्न सक्ने


काठमाडौं– बालुवाटारस्थित ललिता निवास प्रकरणको मुद्दामा नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छादारलाई विशेष अदालतले १० लाख रुपैंया धरौटीमा छाडेको छ।

बालुवाटारको सरकारी जग्गा अपचलनको मुद्दामा फरार रहेको भनी घरमा पनि सूचना टाँस भएका गच्छादार सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको भोलीपल्ट नाटकीय ढंगमा विशेष अदालतमा हाजिर भएका थिए।

न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले धरौटीमा छोड्न आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादारलाई मुद्दा लगाएको थियो।

१ सय १३ रोपनी सरकारी जग्गा किर्ते गरेर व्यक्तिका नाममा लगेको ललिता निवास जग्गा काण्डमा अख्तियारले गच्छादारमाथि ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र सजाय माग दाबी गरेको थियो।

अदालतले धरौटीमा छाडेपछि गच्छादारको सांसद पद पुनर्वहाली भएको छ। योसँगै देउवा सरकारमा मन्त्री हुन सक्ने पनि चर्चा सुरु भएको छ।

प्रतिक्रिया