बुटवलमा एक सातादेखि फोहोर उठेन, सडकमा फोहोर थुप्रिँदा दुर्गन्ध


बुटवल – सुख्खा नगरमा बस्दै आएकी यमकला न्यौपाने दैनिक फोहोरको गाडी आउने बाटो हेर्छिन्‌।

​न्यौपानेले फोहोर फाल्न नपाएको एक साता पूरा भयो। ‘आज आउला छैन,भोली आउला छैन,’ उनले भनिन्,‘भित्र फोहोर गन्हाउन थाल्यो, बाहिर झरी रोकिँदैन।’

उनी झैँ बुटवलको मुख्य बजारमा फलफूल व्यापार गर्दै आएकी गीता गैरे फोहोर नउठ्दा ग्राहक पनि आउन छाडेको बताउँछिन्। ‘फोहोरको थुप्रो देखेपछि मानिसहरू नाक थुन्दै परपरबाट जान्छन्, आउने ग्राहक पनि फोहोरकै कारण पसलका पस्दैनन्। यसरी सडकमा फोहोर थुप्रिँदा दुर्गन्ध फैलिएको छ,’ उनी बताउँछिन्।

बुटवलमा फोहोर नउठेको एक साता भैसकेको छ। जसकारण बुटवल बजार कुरूप देखिएको छ। एकातिर झरीले खाल्डाखुल्डी परेको सडक अर्कातिर फोहोरको दुर्गन्धले नागरिकले सास्ती खेप्न परेको स्थानीयले गुनासो गरेका छन्।

दैनिक उत्सर्जन हुने फोहोर नगरपालिकाले नउठाउँदा सडकमा थुप्रिएको हो। फोहोर फाल्ने ठाउँ भरिएका कारण फोहोर उठाउन समस्या भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।

हाल बुटवल(११, पवित्रनगरमा फोहोर व्यवस्थापन हुँदै आएको थियो त्यहाँ फोहोर राख्ने ठाउँ भरिन थाल्यो, केही प्राविधिक समस्या पनि देखियो, त्यसैले अर्को ठाउँमा व्यवस्थापनको तयारी गरेका छौँ, केही दिनमै समस्या समाधान हुन्छ,’ उनले भने।

अब १० वर्षलाई फोहोर व्यवस्थापन गर्नसक्ने गरी ठाउँको छनोट गरिएको रेग्मीले जानकारी दिए। बुटवलमा २०६८ को जनगणना अनुसार करिब डेढ लाख हाराहारीमा जनसंख्या रहेको छ।
त्यसो त बुटवल,सैनामैना र कन्चन गाउँपालिका मिलेर फोहोर प्रशोधनको योजना अघि बढाउने योजनाका नगरले गृहकार्य गरिरहेको छ। तर, यो योजना सम्पन्न हुन २ वर्षमाथि लाग्ने प्रवक्ता रेग्मीको भनाइ छ। नगरबासी भने पटकपटक फोहोर व्यवस्थापनको समस्या हुने गरेको भन्दै दीर्घकालिन समाधानमा लाग्नुपर्ने बताउँछन्।

प्रतिक्रिया