काठमाडौंमा रहेका चौथाइवालेले जसपा अध्यक्षद्वय डा. भट्टराई र यादवलाई नभेट्नुको कारण
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखका राजनीतिक भेटघाटको महत्वमा किन परेनन् जसपा नेता?
काठमाडौं– भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले काठमाडौं बसाईका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणसम्मलाई भेट गरेका छन्।
तर पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई र सत्ता गठबन्धनमा रहेको एउटा शक्ति जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई भने भेटेका छैनन्।
गृहमन्त्री खाँण, एमाले संगठन विभाग प्रमुख रहेका उपमहासचिव विष्णु पौडेलसम्मलाई चौथाइवालेको भेटले डा. भट्टराई र यादवलाई कुटनीतिक रुपमा कुन स्थानमा राखेको छ भन्ने अर्थपूर्ण हुन्छ। भारतीय संस्थापन कुटनीतिक मर्यादाको निकै ख्याल गर्ने र सन्देश दिने प्रकारको हुँदै आएको छ।
आखिर चौथाईवालेले डा. भट्टराई र यादवलाई किन भेट नगरेका हुन्?
सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईसँग चौथाइवालेको दोहोरी चलिरहेको हुन्थ्यो। भारतीय प्रतिपक्षी दल कांग्रेस आईसँग नजिक रहेका डा. भट्टराई जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गरेको र त्यहाँको उत्पादनका विषयमा चौथाइवालेले टिप्पणी गरेका थिए।
खासगरी गंगामा दूध चढाएको विषयमा डा. भट्टराईले भाजपा र त्यसका नेताको हुर्मत लिनेगरी लेखेपछि चौथाइवालेले जवाफ दिएका थिए। एउटा अन्तरवार्ताका क्रममा डा. भट्टराईले चौथाइवालेको जवाफको कुनै अर्थ नहुने र उनी जुनियर नेता रहेको पनि टिप्पणी गरेका थिए।
यता यादव भने भारतीय संस्थापनको लाइनइतर चीनसँग निकट रहेका कारण भारतीय कुटनीतिका आधारमा चौथाइवालेले वास्ता नगरी सन्देश दिएको टिप्पणी गरिएको छ। ‘चीनसँग अधिक नजिक रहेको र भारतीय चाहनाअनुसार नभई त्यसको विपरित जसपा विभाजन गरेका कारण यादवसँग भेट नगरेका हुन्’, उच्च स्रोतले भन्यो,‘जसपाबाट विभाजित भई सनाखत गर्न लागेका महन्थ ठाकुरलाई भेट्न जानुले पनि यहि सन्देश दिन्छ।’
आग्रहका आधारमा अब भेटवार्ताका लागि पुगे पनि चौथाइवालेले भारतीय कुटनीतिको प्रयोग गरिसकेका छन्। खाँण र पौडेलको भन्दा तल्लो हैसियतको कुटनीतिक मान रहेको भन्ने सन्देश हुन सक्ने बताइन्छ।