तालिवानले दिएको समय सीमाभित्र उद्धार सक्ने अमेरिकाकाे दावी


काबुल – अमेरिकाले तालिवानले दिएको समयसीमा भित्र उद्धार अभियान सम्पन्न गर्ने योजना अघि सारेको छ । अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिवानले अमेरिकालाई यही अगष्ट ३१ सम्म अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लैजान अल्टिमेटम दिंदै त्यसपछि भने गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएकाे थियाे ।

यता अमेरिकाले पनि उक्त समयभित्रै उद्धार कार्य सम्पन्न गर्ने जनाएको हो । यसका लागि अमेरिकाले बेलायत, फ्रान्स, र जर्मनीको सहयोग लिने भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाए अनुसार आजदेखि शुरु हुने औद्योगिक राष्ट्रहरुको समूह जी ७ सम्मेलनमा अमेरिकाले अफगानिस्तानमा फसेका नागरिकहरुको उद्धारका लागि ती राष्ट्रसंग सहयोग माग्ने जनाइएको छ ।

अफगानिस्तानबाट हालसम्म १०औं हजारलाई सुरक्षित स्थानतर्फ सारिसकेको जनाउँदै अमेरिकाले तालीवानले दिएको समय सीमाभित्र त्यतिकै मात्रामा उद्धार गर्ने जनाएको छ । अफगानिस्तानको बिमानस्थलमा अहिले पनि हजारौंको संख्यामा मानिसहरुले आफ्नो कागजातहरु तयार पारिरहेको पनि पेन्टागनले जनाएको छ । सोही क्रममा बिमानस्थलमा भागदौड मच्चिंदा दर्जनौ घाइते भएका छन् ।

प्रतिक्रिया