महाकालीको भाइरल रोडमा ‘फिरन्ते पूर्वयुवराज’


महेन्द्रनगर– आजभोली महाकाली नदी किनारको एउटा सडक भाइरल बनेको छ। उक्त सडकमा सेल्फी खिच्ने र सामाजिक सञ्जालका विभिन्न ठाउँमा राख्ने चलन बढेपछि भाइरल भयो।

महाकाली नदीमाथि अहिले चार लेनको पक्की पुल बनिरहेको छ। त्यसैको पहुँच मार्ग ६ लेन सडक अहिले ‘भाइरल रोड’ले चर्चित बन्दै छ। उक्त रोडमा सर्वसाधारणको भिडमात्र होइन, उच्च तहका व्यक्तिहरुको पनि भ्रमण हुन थालेको छ।

फिरन्ते बनेका पूर्वयुवराज पारस शाह पनि आफ्नो मोटरसाइकलसहित उक्त सडकमा देखा परेका थिए। सडक भाइरल भएपछि पारसले पनि त्यहाँको अनुभव सँगालेका हुन्।

कहिले काठमाडौंका विभिन्न ठाउँ, कहिले पोखरा त कहिले गोरखासम्म फिरन्ते बनिरहेका पूर्वयुवराज भाइरल रोडमा पनि पुग्दा सर्वसाधारणको भिड पनि लागेको थियो।

उनीहरु मात्रै होइन अहिले सेल्फी लिने, फोटो खिच्ने, टिकटक बनाउनेको महाकाली छ लेन सडकमा घुइँचो लाग्ने गरेको छ। त्यहाँ चिल्लो कालोपत्रे सडक छ। सडकको बीचमा क्रमैसँग विद्युतका पोलहरु जडान छन्। अहिले सडककिनारमा आन्तरिक पर्यटकका लागि सुविधाको व्यवस्था पनि गरिएको बताइन्छ।

प्रतिक्रिया