कौशलटार चोकमा एक पुरूष मृत फेला


भक्तपुर – मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा एक वृद्ध मृत फेला परेका छन्। कौशलटार चोकतिरै रिक्सा चलाउने ६५ वर्षीय बच्चु विक मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दिनभरि रिक्सा चलाउने र राति कौशलटार चोकको पसल कवलअघि सुत्ने गरेका सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ घर भएका विक सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रमुख सई भुवन खड्काले जानकारी दिए।

‘साँझ अत्यधिक मदिरा सेवन गरेर सुतेका रहेछन्‚’ खड्काले भने‚ ‘राति सुतेकै स्थानमा मृत्यु भएको देखिन्छ।’

मृतकको परिवार सम्पर्कमा आएको र शव पोष्टमार्टमपछि जिम्मा दिइने खड्काले बताए। शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया