अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी चालु
रुकुम – मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिकामा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको छ। अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग शनिबार बिहानदेखि सुचारु भएको हो ।
शुक्रबार दिनभर र शनिबार बिहान दुई वटा जेसिबी लगाएर पहिरो पन्छाएपछि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
सडक एकतर्फी खुलेपछि अलपत्र सवारी साधनहरू गन्तव्यतिर लागेका छन् । जिल्ला भित्रै चल्ने सवारी साधन र रुकुमकोटबाट बागलुङ, पर्वत, बुटवल, पोखरा, काठमाडौँसम्म जाने सवारी साधनलाई पनि सहज भएको छ । उक्त सडक खण्डमा कमजोर भूगोलका कारण वर्षाको समयमा बेला बेला सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुले सास्ती खेप्दै आएका छन् ।