

चार प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित ठूलो वर्षा हुने

काठमाडौं – आज देशभरी सामान्यदेखि पूर्ण बदली भइ विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय प्रणाली नेपालबाट केही दक्षिण तर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो, देशभर नै सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद सजिना शाक्यले बताइन् । प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद शाक्यले बताए । पहाडी क्षेत्रमा गेग्रानसहितको बहाव, बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

