

‘उदण्ड’ मेयर चौधरीले दिएको दण्ड, सर्वसाधारणलाई कार्यकक्षमा थुनेर सुइँकुच्चा

इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरि अर्को उदण्ड काम गरेका छन्। एक सर्वसाधारणलाई नगर प्रहरीमार्फत बोलाएर कार्यकक्षमा थुनेका छन्।
इटहरी– ४ का यामप्रसाद ढकाललाई कार्यालयमा बोलाएर जग्गमा मिचेर बनाएको घर भत्काउन चेतावनी दिएका थिए। तर, उनले तत्काल भत्काउन नसक्ने बताएपछि कार्यकक्षमा ताला लगाई उनी हिँडेका छन्।
मंगलबार मात्र इटहरी–१३ मा निर्माणाधीन रिसोर्टको पर्खाल भत्काएका चौधरी अहिले मिचिएका जग्गालाई फिर्ता ल्याउने अभियानमा छन्।
यस विषयमा चौधरीको कार्यालयी सम्पर्क नम्बर ९८५२०३६६६५ मा घटनाबारे प्रतिक्रिया लिन गरिएको फोन उठाएनन्।
मेयर चौधरी बेलामौका विवादमा आइरहन्छन्। भ्रष्टाचारी कर्मचारीलाई निकालेको, पत्रकारको नाक भाँच्छु भन्दै करोड बजेट छुट्याएकोलगायतका विवादले चौधरीलाई विख्यात बनाएको थियो।
एमालेबाट निर्वाचित चौधरी आफ्ना राजनीतिक सहकर्मी रामप्रसाद चौलागाँईसँगको विवादका कारण पनि विख्यातीमा रहे। चौलागाई र चौधरीको धम्कीपूर्ण संवादको अडिओ पनि बाहिर आएको थियो।
यस्तै, पछिल्ला चरणमा चौधरीले न्यायाधीशदेखि प्रहरीका उच्च अधिकारी पनि बेश्यावृत्तिमा संलग्न रहेको भनी दिएको अन्तरवार्ता भाइरल भएको थियो।

