

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा नदिने, अदालतको आदेश कुर्ने

काठमाडौं – राजीनामाको तयारी गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले सर्वोच्च अदालतको आदेश कुर्ने भएको छ।
लुम्बिनी प्रदेश सभा, एमाले संसदीय दलको बैठकले प्रदेश सभाको विशेष अधिवेशन विरुद्ध परेको रिटमा अदालतको निर्णयका आधारमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्ने बताएको छ ।
मंगलबार हेर्न नभ्याइनेमा परेको एमाले सांसद लिला गिरीले दिएको मुद्दाको अन्तरिम आदेश आउनसक्ने आशामा एमालेले मुख्यमन्त्रीको राजीनामाको विषय साढे १२ बजेसम्म होल्ड गर्ने भएको हो।
गिरीले अदालतमा अविश्वासको प्रस्ताव र विशेष अधिवेशन रोक्न अन्तरिम आदेश माग्दै रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई आज न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा परेको छ।
सम्बन्धित समाचार : प्रदेशसभा विशेष अधिवेशनसम्बन्धी रिट भट्टराईको इजलासमा
आज बिहान मुख्यमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले सरकार अल्पमतमा परेको विषय स्वीकार गरेको र राजीनामाको बाटो उपयुक्त हुनसक्ने संकेत गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।
तर, एमालेका केही मन्त्रीले भने राजीनामा नदिएर संसदीय प्रक्रियाअनुसार अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने सुझाव दिएका छन्। आजै दिउसो १ बजे सदनमा विपक्षीले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकोले अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने या अविश्वासको प्रस्ताव फेस गर्ने भन्ने निर्णय लिन सकेका छैनन्।

