बिकृत वामपन्थकी बिमला

‘अनि म्याडम बाथरुम कै चप्पलमा भाग्नु परेपछी सारी कुर्था लाउन नभ्याएर म्याक्सी मै पो हुनुहुन्थ्यो कि कसो?’


काठमाडौं– उत्तरकुमार ओली जीवित हुन्थे त कुन पार्टीमा जान्थे होला? प्रदेशमा भएका राजनीतिक खिचातानीको तानातानमा उनले कुन बिकृतिको सामना गर्थे होला?

उत्तरकुमार ओलीको देहान्त भयो र उनको ठाउँमा पत्नी बिमला खत्री ओलीले चुनाव जितिन्। नेकपा भन्ने दल र सूर्य चिह्नबाट उनले लुम्बिनी प्रदेश सभामा उपस्थिति जनाउने मौका पाइन्।

खासगरी एमालेको बलियो र माओवादीको सहयोगी मतले नेकपाबाट उनी उप–निर्वाचनमा बिजयी भइन् र प्रदेश सभामा उनको प्रवेश भयो। राजनीतिमा एकै पटकमा पाएको यो उचाईले उनलाई सत्ता र विपक्षी गठबन्धनको बिकृत राजनीतिक खेलमा लटपटायो।

एमाले र माओवादी ब्युँतिएपछि प्रदेशहरुमा भएको राजनीतिक लुछाँचुडी, सत्ता बनाउने गिराउने खेलमा लुम्बिनी प्रदेशका लागि बिमला निर्णायक जस्तै बनेकी छन्।

उनले पहिलो चरणमा त माओवादीमा रहेको दाबी गरिन्। शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार कमजोर नभएपछि उनी एमालेमा रहेको घोषणा गरिन्। जब, प्रदेश प्रमुख परिवर्तन गरि माओवादी पृष्ठभूमीमा अमिक शेरचनले जिम्मेवारी लिए र सत्ता परिवर्तन हुने सम्भावना देखियो, बिमला भन्न थालेकी छन्– म माओवादीमा छु, एमालेले अपहरण गरेको थियो।

चार दिनसम्म मुख्यमन्त्री निवासमा बस्ने, हस्ताक्षर दच्काएर विज्ञप्ति निकाली एमालेमा रहेको घोषणा गर्ने र कुरा नमिलेपछि अपहरण गरियो भन्नु बिमलाहरु बिकृत वामपन्थका नयाँ नमूनाहरु रहेको बताइन्छ।

मुख्यमन्त्री कार्यालयको ट्वाइलेटको चप्पल लगाएर भागेको बताएकी उनको भनाईमा कति विश्वास होला? एक जना अधिकारी भन्छन्,‘मुख्यमन्त्रीले बन्धक नै बनाएको भए त उनी कसरी निस्कन सक्थिन् र? त्यति सजिलोगरी सुरक्षा घेरा तोड्न सकिन्छ?’

बिमलालाई बन्धक नै बनाइएको भनी माओवादी पक्ष दबाब दिने तयारीमा छ भने एमाले पक्षले कटाक्ष गरिरहेको छ। सुनसरीको इटहरी उपमहानगरपालिकाकी उपमेयर तथा एमाले नेतृ लक्ष्मी गौतमले त उनलाई कडा कटाक्ष गरिन्।

उनी भन्छिन्,‘अनि म्याडम बाथरुम कै चप्पलमा भाग्नु परेपछी सारी कुर्था लाउन नभ्याएर म्याक्सी मै पो हुनुहुन्थ्यो कि कसो?’

बिमलाले पत्रकार सम्मेलन गरी आफूलाई बन्धक बनाएको भन्नचाहिँ हिचकिचाएकी थिइन्। बरु, उनले आफू निस्कने धुनमा मात्र रहेका कारण को कहाँ कसरी थियो भन्ने हेक्का नराखेको अमूर्त उत्तर दिएकी थिइन्।

स्थानीय एमाले नेताहरुले भने बिमलाको आग्रहका आधारमा नै मुख्यमन्त्रीकहाँ लगिएको, अपहरण नगरेको दाबी गरिरहेका छन्। कतिपयले भने अपहरण नै गरेको भए बिमलाले मुख्यमन्त्री पोखरेलविरुद्ध किटानी जाहेरी दिनुपर्ने बताएका छन्।

टिप्पणीकर्ताहरुका अनुसार संसदीय राजनीतिमा कम्युनिस्टका दुई घटकको विकृतिमा बिमला जस्ता सांसदहरुको उदय गरिरहेको बताइन्छ। यसअघि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका प्रदेश सांसदको प्रकरण बाहिर आएको थियो।

प्रतिक्रिया