सामुदायिक संस्थाका अध्यक्षको कुटाइबाट सचिवको मृत्यु


सुर्खेत – जाजरकोटको पधेँरीखोला सामुदायिक संस्थामा पदाधिकारीबीच विवाद हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कुशे गाउँपालिका-८ जिन्तालाका ३५ वर्षीय इन्द्रबहादुर सिंह छन्। उनी पधेँरीखोला सामुदायिक संस्थाका सचिव हुन्। संस्थाका अध्यक्ष विमलप्रकाश सिंहको कुटाइबाट उनको मृत्यु भएको हो।

विवादकै क्रममा अध्यक्षले सचिवको टाउकोमा एक्कासी लाठ्ठीले हिर्काएपछि उनी गम्भीर घाइते भएका थिए। समयमै उपचार हुन नपाउँदा उनको शनिबार बिहान मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सचिवको हत्या गरेको आरोपमा संस्थाका अध्यक्ष सिंहलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए। उनलाई प्रहरीले घटना भएको १२ घण्टापछि भेरी नगरपालिका-२ बाहुनथानाबाट पक्राउ गरेको हो।

संस्थाको खातामा रहेको गरिबी निवारण कोषको रकमका विषयमा अध्यक्ष-सचिवबीच शुक्रबार साँझ विवाद भएको थियो।

प्रतिक्रिया