

जसपा विवाद : महन्थ ठाकुरको रिटमाथि सुनुवाइ सुरु

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को विवादमा अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । अध्यक्ष ठाकुरले दायर गरेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो ।
निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्य कायम गर्ने विषयमा गरेको निर्णयविरुद्ध ठाकुरले साउन ८ गते रिट दायर गरेका थिए ।
ठाकुरले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले साउन १० गते दुबै पक्ष बोलाउने निर्णय गरी आजका लागि पेशी तोकेको थियो । निर्वाचन आयोगले ११ गते कार्यकारिणी समितिका सदस्यहरुलाई उपस्थित गराएर गणना गरी आधिकारिकता दिने निर्णय गरेका थियो । त्यो निर्णय विरुद्धठाकुर सर्वोच्च गएका हुन् ।
तर, निर्वाचन आयोगले जसपाको अधिकारिकता सम्बन्धी विवादमा निर्णय गरी उपेन्द्र यादव समूहलाई आधिकारिकता प्रदान गरिसकेको छ । आयोगले उपस्थित गराएर हेडकाउण्ट गर्दा अध्यक्ष यादवको पक्षमा ३४, अध्यक्ष ठाकुरको पक्षमा १६ र एक सदस्य तटस्थ बसेका थिए ।

