सडकमा शिव सेना नेपालको ‘नो एमसीसी’ प्रचार

शिव सेना केन्द्रीय सदस्य तथा पूर्वाञ्चल प्रमुख कँडेल भन्छन्– सहरी सडकभरी राष्ट्रघाती सम्झौताको सांकेतिक विरोध


काठमाडौं– राजावादी संगठन शिव सेना नेपालले प्रदेश–१ का सडकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रचार अभियान सुरु गरेको छ।

मोरङको मुख्य सहरबाट सुरु गरिएको यो अभियान सुनसरी, झापालगायत प्रदेश १ का मूल सडकमा गरिने शिव सेना नेपालका शिव सेना केन्द्रीय सदस्य तथा पूर्वाञ्चल प्रमुख सुरज कँडेल बताउँछन्। यसबाहेक एमसीसी सम्झौता लागू नगराउन दबाब दिन तथा धार्मिक सापेक्षता र राजसंस्थाका निम्ति राँके जुलुस, मोटरसाइकल प्रदर्शनको कार्यक्रमको पनि तयारी भएको छ।

शिव सेना शिव सेना केन्द्रीय सदस्य तथा पूर्वाञ्चल प्रमुख सुरज कँडेल

कँडेल भन्छन्,‘विदेशीको क्रिडास्थल बनाउनका लागि एमसीसी ल्याइएको छ, नेपाली भूमीमा विदेशी सेनाको परेड खेलाउन मिल्दैन यसका लागि शिव सेना नेपालका युवा शक्ति जागिसकेका छौं।’

शिव सेना नेपालले मोरङको बिराटनगर, सुनसरीको इनरुवाका सडकमा लेखिसकेको छ भने अब इटहरी, धरान, झापाको दमक,विर्तामोड, काकडभिट्टालगायतका सडकमा एमसीसीविरुद्ध सडक पेन्टिङ गर्ने भएको छ।

एमसीसी सम्झौताका लागि गणतन्त्रका नाममा अहिलेका सत्ता र प्रतिपक्षीको कुर्सीको लडाई भएको र यसले मुलुकमा शान्ति स्थापना नहुने शिव सेनाको ठहर छ। कँडेल भन्छन्,‘वास्तवमा गणतन्त्र भन्ने नै आयातित व्यवस्था हो, मौलिक राजसंस्था अनिवार्य चाहिन्छ भन्ने जनमत बनाउन हामी सक्रिय रहनेछौं।’

अहिलेको यो अभियान सांकेतिक विरोध भएको बताउँदै कँडेल भन्छन्,‘परिआएको खण्डमा हामी ठूलो सभा र प्रदर्शनमार्फत पनि यो सम्झौताको विरोधमा खबरदारी गरिरहनेछौं।’

प्रतिक्रिया