कार्यदललाई थाहै नदिई उमेश श्रेष्ठलाई मन्त्री उपहार!


काठमाडौं – गत ७ साउनमा सत्ता सहयात्री दलहरुले सात सदस्यीय कार्यदल गठन गरे। कार्यदलले सरकार सञ्चालनमा सहजीकरण गर्ने बताइएको थियो। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु छन्।

कांग्रेसबाट खड्काका अतिरिक्त डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन्। जतिबेला गठबन्धनले सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सात सदस्यीय कार्यदल गठन गरेको थियो।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएदेखि नै सरकारलाई सहयोग गर्ने संरचना गठनको कुरा उठिरहेको थियो। यसैलाई मूर्तरुप दिइएको भनिएको थियो। कार्यदलले सत्ता सहयात्री दलहरुबीच खटपट उत्पन्न हुन नदिन र सहमतिमा सरकारका नीतिहरु ल्याउन मद्दत गर्ने अपेक्षा थियो।

कार्यदललाई मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम कारवाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउने कार्यदेश दिइएको भनेर प्रचारप्रसार गरिएको थियो। तर, त्यही कार्यदलसँग सामान्य छलफल नै नगरी प्रधानमन्त्री देउवाले मन्त्री नियुक्त गरेपछि कार्यदलमा असन्तुष्टि बढेको छ।

आइतबार कार्यदललाई थाहै नदिई प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरे। स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्ति गर्दासमेत देउवाले कार्यदललाई पत्तो नै नदिएपछि कार्यदलमा असन्तुष्टि देखिएको हो।

यस विषयमा कार्यदलका संयोजक खड्कालाई तपाईंहरुको सुझावकै आधारमा प्रधानमन्त्रीले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्? भन्ने प्रश्नमा मन्त्री नियुक्तिबारे आफूलाई केही थाहा नभएको बताए।

‘नाम मात्रको कार्यदल गठन भएको रहेछ। कार्यदललाई यति अधिकार दिइएको छ भनेर प्रचार गर्नुको केही अर्थ छैन,’ खड्काले भने, ‘हिजाको मन्त्री नियुक्तीबारे केही थाहा छैन। अरु साथीहरुलाई खबर छ कि, तर मलाई चाहिँ थाहा छैन्।’

ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष रहेका श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेपछि प्रधानमन्त्री देउवाको चर्को आलोचना भएको छ। देउवाले कार्यदललाई थाहै नदिई श्रेष्ठलाई मन्त्री पद उपहार दिएको चर्चा छ।

श्रेष्ठ कांग्रेसमा दोस्रो पटक समानुपातिक कोटाबाट सांसद बनेका व्यक्ति हुन्। यसअघि उनी संविधानसभा सदस्य थिए। श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ।

‘अब स्वास्थ्य सामाग्रीको अभावमा कसैले ज्यान गुमाउनु पर्दैन’

राज्यमन्त्री श्रेष्ठले आइतबार नै सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन्।

सपथपछि आइतबार नै राज्यमन्त्री श्रेष्ठले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे। पदभारपछि मन्त्री श्रेष्ठले कोरोनाबाट जनताको ज्यान जोगाउन हरसम्भव प्रयास गर्ने बताए।

अब स्वास्थ्य सामाग्रीको अभावका कारण कोही संक्रमितले पनि ज्यान गुमाउनु नपर्ने उनले बताए। उनले कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीले दिएको निर्देशनलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने धारणा राखे।

राज्यमन्त्री नियुक्त गरे पनि मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैँसँग राखेका छन्।

प्रतिक्रिया