

माओवादीमा मन्त्री बन्नेको लर्को, नारायणकाजीलाई चाहियो उपप्रधान र परराष्ट्र

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्रीको नाम टुंगो लगाउन नेताहरुसँग आन्तरिक छलफल थालेका छन् । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम टुंगो लगाउन पेरिसडाडामा नेताहरुसँग आन्तरिक छलफल थालेका हुन् ।
देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट दुई जना मन्त्री भइसकेका छन् । अर्थमा जनार्दन शर्मा र उर्जा मन्त्रालयमा पम्फा भुसाल नियुक्त भएका छन् । अहिले छलफल जारी छ ।
आजको बैठकमा सरकारलाई प्रभावकारी बनाउने, र पार्टीको संगठनात्मक विषयमासमेत छलफल हुने बताइएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने दौडमा छन् । तर अर्थमन्त्री समेत रहेका नेता शर्माले सरकारको नेतृत्व आफैले गर्ने चांहना व्यक्त गरेका छन् । माओवादीमा श्रेष्ठको भन्दा संगठनमा शर्माको बलियो पकड छ ।
यसअघि कृषिमन्त्री बनेका नेता हरिबोल गजुरेलले पनि सरकारको नेतृत्वमा दावी गरेका छन । उनि यसअघि २०६९ माघ २० देखि २६ सम्म भएको हेटौडा महाधिवेशनमा कोषाध्यक्षमा निर्वाचित भएका थिए । माओवादीले ८ मन्त्रालय दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । तर, एमालेको माधव नेपाल समुह सरकारमा सहभागी हुने सम्भावना भएकाले माओवादीले ६ मन्त्रालय मात्र पाउने अवस्था छ ।
माओवादीभित्र मन्त्री बन्न धेरै आकांक्षीहरु छन । माओवादीमा सवैजस्तो स्थायी समिति सदस्यहरु मन्त्री बनेपनि अहिलेसम्म मन्त्री बन्न नपाएका देवेन्द्र पौडेल पनि यसपटक मन्त्री बन्ने दौडमा छन् ।

