‘मेडिकल ताइकुन’का रुपमा उदाए सुनिल शर्मा, खरिद गरे नेपालगञ्ज मेडिकल कलेज

कांग्रेसको छत्रछायाँमा हुर्किएका शर्माको गहिरो सम्बन्ध माओवादीका नेतासँग समेत रहेको छ


काठमाडौं– स्वास्थ्य क्षेत्रका ताइकुन सुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेज खरिद गरेका छन्। बिराटनगरको नोबेल मेडिकल कलेज सञ्चालन गरेका उनले काठमाडौंको केएमसी पनि हालै खरिद गरेका थिए।

एक वर्षदेखि नै शर्माले उक्त मेडिकल कलेज खरिदको प्रक्रिय सुरु गरेका थिए। नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेश कुमार कनोडियाले मेडिकल कलेज शर्माले खरिद गरेको बताएका छन्।

नेपाली कांग्रेसबाट मोरङमा चुनाव समेत लडेका शर्माको सम्बन्ध डा. शेखर कोइरालासँग राम्रो रहेको छ। प्रबन्ध निर्देशकका रुपमा नोबेल मेडिकल कलेजमा छिरेका उनले विस्तारै त्यहाँका सबै पार्टनरलाई पाखा लगाएका थिए।

केही बर्ष अघि मात्र उनले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) खरिद गरेका थिए।

‘मेडिकल कलेजमा रहेको हाम्रो शेयर बिक्री गरिसक्यौं, अब कलेज सुनिल जी ले चलाउनुहुन्छ’, डाक्टर कनोडियाले जानकारी दिएका छन्। कनोडिया समूहको सबै शेयर शर्माले खरिद गरेका हुन्।

करिब १४ सय कर्मचारी रहेको नेपालगन्ज मेडिकल कलेजमा भारत, बङ्गलादेश लगायतका देशबाट विद्यार्थी आउँछन्। उक्त मेडिकल कलेज खरिदसँगै शर्मा ‘मेडिकल ताइकुन’का रुपमा उदाएका छन्।

मेडिकल कलेजको व्यावसायका क्रममा शर्मा विवादमा पनि मुछिएका थिए। उनी हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रहेका डा. ज्ञानेन्द्र गिरीलाई अपहरण गर्नेदेखि बिराटनगर मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीसँगको विवादका कारण बिख्यात भएका थिए।

शर्मालाई माओवादी नेता बर्षमान पुनको पनि आशिर्वाद रहेको बताइन्छ। यति मात्र होइन उनको उठबस पूर्वशिक्षा मन्त्री तथा अब सरकारमा स्वास्थ्य मन्त्रीको सम्भावना रहेका गिरीराजमणि पोखरेलसँग समेत रहेको छ।

प्रतिक्रिया