

सर्वोच्चको आदेशमाथि यस्तो छ एमालेको आधिकारिक टिप्पणी

काठमाडौं — नेकपा एमालेले सर्वोच्च अदालतको फैसला अप्रिय र अलोकतान्त्रिक रहेको प्रतिक्रिया दिएको छ । पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अदालतको फैसला अप्रिय र अलोकतान्त्रिक रहेको प्रतिक्रिया दिएका हुन् ।
फैसलाबारे प्रतिक्रिया दिँदै ज्ञवालीले सञ्चारकर्मीसँग कुरा गर्दै सर्वोच्चको आदेशले राजनीतिक जग खलबल्याउने काम भएको बताए ।
उनले भने, ‘यो फैसलाले जग खलबल्याउने काम भयो । यो फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच द्वन्द्व निम्त्याउने काम भयो । यो राजनीतिक विषय भएकाले अदालतले निर्णय गर्नु हुँदैनथ्यो, तर त्यही भयो ।’
उनले फैसला प्रथम दृष्टिमै संविधानको मूल मर्म र भावनाभन्दा विपरीत भएको बताए ।
नेपालको संविधानमा अदालतले नै प्रधानमन्त्री तोक्ने कल्पना नगरिएको भन्दै यो फैसलाले संसदको अधिकार खोसिएको र राष्ट्रपतिलाई अधिकारबाट विमुख गर्न खोजिएको ज्ञवालीको टिप्पणी गरे ।
सरकार बन्ने बनाउनेबारे अधिकार संसदकै अधिकार रहेको बताउँदै ज्ञवालीले प्रधानमन्त्री नियुक्ति वा पदमुक्त हुनुपर्नेमा न्यायपालिकाको प्रवेश हुँदा लोकतान्त्रिक भविष्यको चिन्ता बढेको बताए ।
उनले भने, ‘यो फैसलालाई हामीलाई दुखित, अचम्मित र चिन्तित तुल्याएको छ । किनभने सरकार बन्ने थलो भनेको संसद हो । तर संसदभन्दा बाहिरबाट सरकार बनाउने आदेश आउन थाल्यो भने यसले दूरगामी नकारात्मक प्रभाव पार्छ । यो फैसलाले लोकतन्त्रमा घाउ बनाएको छ र यो घाउ निको पार्न समय लाग्छ ।’

