युद्धका लागि अब आफ्ना सैनिक अफगानिस्तान नपठाउनेः बाइडेन


वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले अब अफगानिस्तानमा युद्ध गर्न आफ्ना सैनिक नपठाउने बताएका छन्। आउँदो अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता हुने घोषणासमेत बाइडेनले गरेका छन्।

‘अब जतिसक्यो छिटो अफगानिस्तानबाट हाम्रा सैनिक फर्किनेछन्,’ ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले भनेका छन्, ‘अर्को पुस्ता अब अमेरिकाबाट अफगानिस्तानमा युद्ध लड्न जाने छैन।’ अफगानिस्तानमा २० वर्षदेखि अमेरिकी सैनिक तैनाथ छन्। बाइडेनले अब आफ्नो देश कसरी चलाउने भन्ने निर्णय अफगानिस्तान सरकारले गर्नुपर्ने बताएका बिबिसीले जनाएको छ।

अफगानिस्तानमा रहेका ९० प्रतिशत अमेरिकी सैनिक यसअघि नै स्वदेश फर्किसकेका छन्। बाँकी १० प्रतिशत सैनिक पनि आउदो अगस्ट ३१ सम्ममा स्वदेश फर्किसक्ने घाषणा बाइडेनले गरेका छन्। अमेरिकी सैनिक फर्किन थालेसँगै त्यहाँ विद्रोही समूह तालिबानले आफ्नो पक्कड बढाउँदै लगेको छ।

तालिबानले अफगानिस्तानको झन्डै एक तिहाई भूभागलाई आफ्नो नियन्त्रणमा लिएको छ । सन् २००१ मा अमेरिकाले आफ्नो सेना अफगानिस्तानमा पठाएको थियो। यस अवधिमा २ हजार ४ सय ४८ जना अमेरिकी सैनिकले अफगानिस्तानको युद्धमा ज्यान गुमाएका छन् भने २० हजार ७ सय २२ जना घाइते भएका छन्।

बाइडेन अफगानिस्तानमा युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति हुन्। बाइडनले आफ्ना सेनाले त्यहाँका नागरिकको जीवन जोगाएको दाबी गरेका छन्। तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनले पछिल्लो प्रतिक्रिया आएको हो।

सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको थियो। अमेरिकी फौज समय सीमाभित्रै फर्किसक्नुपर्छ। यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने घाषणा बाइडनले गरेका थिए।

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गरेको थिए। तर गत जनवरीमा पदभार ग्रहण गरेपछि बाइडनले त्यो समय सीमालाई केहीपछि धकेलिदिएका थिए।

अमेरिकी सेना पूर्ण रूपमा फर्किए पनि ६५० देखि एक हजार सैनिक अधिकारी भने अमेरिकी अफगानिस्तानस्थित अमेरिकी दूतावास, काबुल विमानस्थल र अन्य सरकारी पूर्वाधारहरूको रक्षार्थ अफगानिस्तानमै बस्ने अनुमान गरिएको छ।

प्रतिक्रिया