

प्रहरीले तानेको लहरोमा जालसाजीको गिरोह, फरार सशस्त्र असई खड्काको यस्तो छ अपराध कर्म

काठमाडौं – १४ असारमा महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली सवारी दर्ता किताब बनाएर कारोबार गर्ने गिरोह पक्राउ गर्न सफल भयो। भन्सार छलीको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताबलगायतका किर्ते कागजात बनाउने मानिसहरुलाई नियन्त्रणमा लिएको भन्दै महाशाखाले १५ असारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो।
महाशाखाले जारी गरेको प्रेस विज्ञप्तिमा पाँच जनाको नाम उल्लेख छ। तर, पक्राउ परेका व्यक्ति चार जना मात्रै हुन्। महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा कमल बाबु पुरी भनिने लमजुङ सुन्दरबजारका कमलबाबु भट्ट, भक्तपुर चाँगुनारायण नगरपालिका–८ बस्ने अरुण खड्का, भक्तपुर चाँगुनारायण–२ बस्ने मधु सिलवाल र मोरङ घर भई शान्तिनगरमा बस्ने रेवती रमन निरौला छन्।
प्रेस विज्ञप्तिमा विशाल खड्काको नाम समेत जोडिएको छ।
‘भन्सार छलीको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब भन्सार छली काठमाडौं भित्र्याएको ग३च १४६२ र नम्बरको हुण्डाई कम्पनीको क्रेटा कार गोपीकृष्ण हल नजिक फेलापारेको महाशाखाले दिएको विवरणमा उल्लेख छ।
महाशाखाले जारी गरेको विज्ञप्तिमा ‘उक्त कारमा सवार कमलबाबु भट्टलाई पक्राउ गरी थप सोधपुछ गर्दा निजले अर्को क्रेटा गाडी भक्तपुर बस्ने अरुण खड्का, मधु सिलवाल र विशाल खड्काको ग्रुपले बिक्री गर्न राखेको भन्ने खुलाईदिएको’ उल्लेख छ।
पत्रकार सम्मेलनमा समेत महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुबेर खापुङले खड्का फरार रहेको र खोजीकार्य भइरहेको जानकारी दिएका थिए।
त्यसो भए विशाल खड्का कहाँ छन् त? को हुन् विशाल खड्का? विशालको भूमिका के छ?
यस विषयमा अनलाइनन्यूजले खोजी गर्दै जाँदा विशाल खड्का सशस्त्र प्रहरी बल, नेपालका सहायक निरीक्षक (असई) रहेको खुलेको छ। यसअघि पनि विशाल खड्का सुन र ११ लाख लुटपाट गरेको अभियोगमा पक्राउ परेका व्यक्ति हुन्।
जेठ २०७५ सालमा सशस्त्र मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत खड्कालाई प्रहरीले एक किलो सुन र ११ लाख लुटेको आरोपमा पक्राउ गरेको थियो।
खड्काको टोलीले काठमाडौंको सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको साथबाट ८ सय ८३.१०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेको थियो।
२३ चैत २०७४ सालमा सुन्धारास्थित होटल मेजेस्ट्रीमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ का सुन व्यापारी मुन्ना कुमार सोनारलाई असई खड्कासहित ७ जनाले धारिलो हतियार देखाएर लुटपाट गरेका थिए।
मुन्ना सुन गाल्नका लागि काठमाडौं आएको बेला उनले चिनेजानेको अविनाश शाह र असई खड्कासहितका सात जना सोनार बसेको होटलमा पुगेका थिए।
होटलको कोठामा पुगेको लुटेरा समुहले धारिलो हतियार देखाएर डर, धक्की दिँदै मुन्नाको साथमा रहेको करिब १ किलो सुन, ११ लाख नगद र मोवाईल लुटपाट गरेर फरार भएका थिए। घटनाको केही दिनमै अविनाश पक्राउ परेका थिए।
अविनाशकै बयानको आधारमा प्रहरीले १४ जेठमा विशाल खड्का र प्रविण गिरीलाई पनि नियन्त्रणमा लिएको थियो। गिरी नेपाल विद्यार्थी संघका नेता समेत हुन्। बालाजुस्थित मनमैजु स्थायी घर भएका खड्कासहित पक्राउ सबैलाई काठमाडौं प्रहरीले त्यतिबेला जबर्जस्ती चोरी डाँका र संगठित अपराध मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।
तिनै विशाल खड्काबाहेक कीर्ते कागजात तयार पारेर सवारी कारोबार गर्ने चारजना पक्राउ परे। यस विषयमा महाशाखाले फरार खड्काको खोजी कार्य भइरहेको जनाएको छ।
पक्राउ परेका चारजनाको साथबाट महाशाखाले ग३च १४६२ र प्रदेश ३–०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडी नियन्त्रणमा लिएको छ। उनीहरुले भन्सार छली काठमाडौं ल्याई ती सवारी साधनको नक्कली सवारी र्दाा किताब लगायतका कागजातहरु तयार गरी कारोबार गर्ने तयारीमा थिए।
तर, असारको पहिलो हप्ता कमलबाबुले क्रेटा गाडी भन्सार छलेर नेपाल ल्याएर बिक्री गर्छन् भन्ने खबर महाशाखामा पुगेको थियो। यतिमात्र होइन, नक्कली सवारी किताबलगायतका कागजात तयार गरेर उनले गाडी विक्री गर्छन् भन्ने सूचना पुगेपछि महाशाखाको टोली कमलबाबु खोज्न थालेको थियो।
करिब १० दिनको अन्तरालपछि कमलबाबु १४ असारमा चाबहिलस्थित गोपीकृष्ण हल अगाडि भेटिएका थिए। उनी ग३च १४६२ नम्बरको क्रेटा गाडीमा सवार थिए।
उनी समातिएपछि प्रहरीहरूले सोधपुछ गर्न थाल्यो। कमलबाबु खुल्दै गए। त्यसक्रममा उनले अरूण खड्का, विशाल खड्का र मधु सिलवालको नाम लिए।
अरूण र मधुले प्रदेश ३–०१–०२४ च ०२५३ नम्बरको क्रेटा गाडी अर्कैलाई बेच्न खोजिरहेका थिए। सोही क्रममा महाशाखाको टोलीले उनीहरुलाई खोज्दै जाँदा सूर्यविनायक–६ गणेश मन्दिरमा फेला पारेको हो।
यसरी कमलबाबु, अरुण र मधु तीनैजना पक्राउ परेपछि प्रहरीको शंका नक्कली कागजाततर्फ अनुसन्धान अगाडि बढाएको हो।
अनुसन्धानको क्रममा मोरङका रेवतीमरण निरौलाले काठमाडौं–३१ पुरानो बानेश्वरमा एउटा घरको फ्ल्याट नै भाडामा लिएर नक्कली सर्टिफिकेटको धन्दा चलाएको पनि प्रहरीले पत्ता लगायो।
तीनै जनासँग सोधीखोजी गरेपछि उनीहरुले रेवतीमरण निरौलाको नाम लिएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए।
प्रहरीले निरौलाको कोठाबाट चार बोरा नक्कली सर्टिफिकेट, नक्कली लाइसेन्स, नक्कली नागरिकता, नक्कली ब्लुबुक, राहदानी बरामद गरेको छ। त्यस्तै काठमाडौं विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, उच्च माध्यमिक शिक्षा परिषद, पूर्वाञ्चल विश्वविद्यालय, यातायात व्यवस्था कार्यालयलगायतका १९१ कार्यालयका प्रमुख, परीक्षा नियन्त्रक लगायतका छाप फेला परेका छन्।
प्रहरीले बरामद गरेको दुबै गाडी कमलबाबुको नाम उल्लेख गरिएका ब्लुबुक फेला परेका छन्। ती ब्लुबुक रेवतीरमणले बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अरूण, विशाल र मधु रिकण्डिसन कार बिक्री वितरणमा संलग्न छन् भन्नेसम्म प्रहरीले पत्ता लगाएको छ।
पक्राउ परेका चारै जनामाथि अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ।

