

सुमन शर्माले राज्यमन्त्रीबाट राजीनामा दिइन्, लुम्बिनी सरकार अल्पमतमा

काठमाडौं – जनता समाजवादी पार्टी नेपालबाट मन्त्री बनेकी लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएकी छिन्। शर्माको राजीनामासँगै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन्।
जसपाका अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीबाट कारबाही गरेर प्रदेश सांसदबाट हटाउने चेतावनी दिएपछि शर्माले आफ्नो पदबाट राजीनामा दिएकी हुन्। आज उनले पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन्।
उनले आफूलाई जसपाका प्रदेश सांसद सन्तोषकुमार पाण्डेले छलछाम गरी सरकारमा लगेको बताउँदै आफू जसपाको मूलधारमा रहेर पार्टीको नीति सिद्धान्त अनुसारको प्रतिगमनको विरुद्धमा सङ्घर्ष गर्ने घोषणा गरेकी छिन्।
लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपाका ४ र राष्ट्रिय जनमोर्चाका एक जना छन्।
जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो। तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन्। सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ।
अब पोखरेल नेतृत्वको सरकारले बहुमत गुमाएसँगै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन्।
सरकार अल्पमतमा परेसँगै सरकारले प्रदेशसभामा पेश गरेको बजेट पारित नहुने सम्भावना बढेको छ। प्रदेशसभाको बैठक असार २७ गते बोलाइएको छ।

